Wednesday, July 31, 2024
बोल्यो मुख लागे जस्तो, नबोल्यो चुप लागे जस्तो !
मानिस जन्मजात स्वतन्त्र प्राणी हो । मानिसमा अरु प्राणीको भन्दा भिन्न विशेषता के
छ भने, उसमा सोचविचार गर्ने शक्ति छ । मानिसमा आफू र अरुमाथिको खतरा वा आपत्तिबारे
जानकारी राख्ने सामर्थ्य पनि छ । मानिसको मन र मस्तिष्क अत्यन्त क्षमताशिल र अरु
प्राणीको भन्दा भिन्न छ । त्यसैले त मान्छे चरा जस्तो आकाशमा उड्न सक्छ, हावालाई
रबरमा कैद गरी तीब्र गतिमा गुड्न सक्छ, एक ठाउँमा बसी बसी अर्को ठाउँमा कुरा गर्न
सक्छ, एक ग्रहबाट अर्को ग्रहमा जान सक्छ आदी । हो मान्छे असल र खराब दुबै खालको काम
गर्न सक्छ । मानिसका मनमा प्रेम, घृणा, करुणा, साहस, आक्रोश, ग्लानि, चिन्ता आदि
अनेक भाव भएकाले असल र खराब दुबै काममा प्रेरित हुनसक्छ । तथापि खराब कुराले
मानिसकै हित गदैन । अरुको पनि त्यसबाट भलाई हुँदैन । सामाजिक वा सार्वजनिक रुपमा
मानिस खराब कुराको पक्षमा उभिन सक्दैन ।
मानिस जन्मजात स्वतन्त्र भए पनि उसलाई
स्वतन्त्रतापूर्वक बाँच्नका लागि अरुले उसको स्वतन्त्रतालाई मान्यता दिनुपर्छ र
हस्तक्षेप गर्नु हुँदैन । यसैगरी आफू स्वतन्त्रतापूर्वक बाँच्न चाहनेले अरुले
स्वतन्त्रतापूर्वक जिउन पाउने कुरालाई मान्यता दिनै पर्छ । एकको सुरक्षा अर्काको
सुरक्षामा निर्भर हुने भएकाले मानिसले स्वतन्त्रताको उपयोग मर्यादापूर्वक
गर्नुपर्ने अवस्था आउँछ । यसो हुँदा मानिसले गर्ने स्वतन्त्रताको उपभोगलाई अधिकार र
कर्तव्यका माध्यमबाट नियमित गर्नु पर्ने हुन्छ । अधिकार र कर्तव्यको सीमाभित्र
समाजका मानिसहरुको स्वतन्त्रता सुरक्षित हुन्छ । त्यसैले स्वतन्त्रता भनेको जे पायो
त्यही गर्न पाउनु नभएर मानिसका लागि अधिकार र कर्तव्यको सन्तुलनमा मानव क्रियाकलाप
अगाडि बढाउनु हो । स्वतन्त्रता र अधिकारको आवाज उठाउने जो कोहीले पनि अधिकारको दावी
गर्दा कर्तव्यलाई भूल्न हुँदैन । नेपालको अन्तरिम संविधानले नेपाली नागरिकका मौलिक
स्वतन्त्रतालाई मौलिक हकका रुपमा मान्यता दिएको छ । संविधानको धारा १७ मा
स्वतन्त्रताको हकको व्यवस्था गरिएको छ । जसको मर्म भनेको नागरिकले आफ्नो अधिकार
प्रयोग गर्दा अरुको अधिकार हनन् गर्नु हुँदैन ।
यसको मतलब स्वतन्त्रताका निम्ति सबै
नागरिकहरुको सार्वजनिक उत्तरदायित्व हुन्छ भन्ने पनि हो । के हो त सार्वजनिक
उत्तरदायित्व ? राज्यव्यवस्थाले नागरिकहरुलार्ई पेशा, व्यवसाय, उद्योग, सेवा,
विकासका अवसरहरुको माध्यमबाट क्रियाशील बनाउँछ । नागरिक मुलुकका मालिक, कर्ता,
निर्णयकर्ता, करदाताका रुपमा क्रियाशील हुने भएकाले राज्यको शासनव्यवस्थामा विभिन्न
पद र स्थानमा पुगेर निर्णय लिने र काम गर्ने पनि नागरिक नै हुन् । यसरी राज्य,
सरकारको कुनै निकाय वा सार्वजनिक निकायको पदमा काम गर्न पुग्ने नागरिकका आमअधिकार र
कर्तव्य त अरुसरह रहन्छन् तर उनीहरुमा कानुनको पालना गर्नुपर्ने, पारदर्शी
रहनुपर्ने, नातागोता वा आफन्त र अन्य मानिसका बीचमा भेदभाव र पक्षपात गर्न नहुने,
सदाचारमा रहनुपर्ने, समाज र राष्ट्रपतिको व्यक्तिगत दायित्वलाई सर्वोपरि
राख्नुपर्ने जस्ता कर्तव्यहरु थपिन्छन् । यस्ता कर्तव्य, दायित्व र जिम्मेवारीलाई
सार्वजनिक उत्तरदायित्व भनिन्छ । सर्वजनिक सेवा वा पदमा रहने सामाजिक व्यक्तिहरुले
आफूलाई अरुको अभिभावकको रुपमा राखेर सबैलाई समेट्न जरुरी हुन्छ । सार्वजनिक
उत्तरदायित्वमा रहेको सामाजिक मानिसहरु आमरुपमा सबैप्रति उत्तरदायी हुन्छ । अधिकार
र कर्तव्यसँगै स्तरअनुसार तल्लो तहमा काम गर्ने जो कोहीले माथिल्लो तहमा रहने
अधिकारीप्रति उत्तरदायी वा जवाफदेही रहनुपर्छ ।
माथिल्लो तहमा रहनेले पनि तल्लो
तहमा रहनेलाई उत्तिकै सम्मान र उचित व्यवहार गर्नु पर्दछ । स्वतन्त्रतापूर्वक
नागरिकहरुले प्राप्त गर्ने सेवा र अवसरहरुलाई नागरिक बीच न्यायोचित तरिकाले
बाँडफाँट गर्नु सार्वजनिक उत्तरदायित्वको महत्वपूर्ण कार्य हो । पारदर्शिता, भेदभाव
र पक्षपातरहित व्यवहार, सार्वजनिक सदाचारमैत्री कार्यशैली यसका अनिवार्य तत्व हुन्
। जिम्मेवारीको यो समग्र पक्षलाई सार्वजनिक उत्तरदायित्वको रुपमा अर्थ्याउने गरिन्छ
। तर यसका लागि नागरिक चुप लागेर चाहिं प्राप्ति हुँदैन । पक्षपात र भेदभाव के हो ?
विभिन्न पक्षमध्ये अन्य कुरा सोचविचार नै नगरी कुनै एकको पक्ष लिनु नै पक्षपात
गर्नु हो ।
कानुन, रीत, उचित वा अनुचितको ख्याल, योग्यता वा क्षमताको बस्तुनिष्ठ
मूल्याङ्कन नगर्नुलाई पक्षपात मानिन्छ । मनोमानी तरिकाले कसैको पक्षमा कुनै काम
गर्नुलाई पक्षपात भनिन्छ । सरकारी, सार्वजनिक अधिकारी वा सामाजिक व्यक्तित्वहरुले
नपाउनु पर्ने व्यक्तिलाई पद, सुविधा, अवसर वा अन्य कुनै स्वार्थसिद्ध गर्ने मौका
दिइएमा त्यसलाई पक्षपात भएको मानिन्छ । भेदभाव भनेको चाहिं समानहरुका बीचमा असमान
व्यवहार गर्नु हो । कुनै पनि मुलुकका नागरिकहरु राज्य र सरकारका लागि समान हुन् ।
राज्य र सरकारले कसैलाई कम र कसैलाई बढी संरक्षण गर्न पाउदैन । कुनै पनि नागरिकलाई
कहीं पनि धर्म, वर्ण, लिङ्ग, जातियता वा क्षेत्रीय उत्पत्ति, पेशा वा अन्य कुनै पनि
आधारमा अन्तर पार्न पक्षपात गर्न वा रोकावट गर्न हुँदैन ।
राज्यले नागरिकलाई समानताका आधारमा आर्थिक, सामाजिक, साँस्कृतिक, नागरिक तथा अन्य
क्षेत्रमा अधिकार र स्वतन्त्रताहरुको उपभोग वा अभ्यासको मान्यतालाई खण्डित वा
प्रभावविहीन गराउने कुनै पनि अन्तर, बाह्यकरण, निष्कासन वा रोकावटलाई भेदभाव भनिन्छ
। अन्त्यमा, हरेक क्षेत्रमा समानता, सामावेशीकरण, सदाचार, जनउत्तरदायी, सार्वजनिक
उत्तरदायित्व, कानुनी राज्य, विधिको शासन, पारदर्शिता, सुशासन, जनसहभागिता,
निष्पक्ष र सक्षम न्यापप्रणाली, लोकतन्त्र र लोकतान्त्रिक मान्यता, लोकतान्त्रिक
नेतृत्व र दण्डहीनता जस्ता गहन र गहकिला विषयहरुको चर्चा परिचर्चा छन् । यस्ता कुरा
चर्चामा भए पनि यसको व्यवहारिक प्रयोग कहीं कतै छैन । हरेक क्षेत्रमा विकृती
विसंगति बढ्दो छ । नागरिकहरुमा सार्वजिनक निकायप्रति, राजनीतिक दल र नेताहरुप्रति,
सञ्चार क्षेत्र र सञ्चारकर्मीहरुप्रति, न्यायपालिका र न्यायिक निकायहरुप्रति,
व्यापारी र उद्योगीहरुप्रति लगायतका सबै क्षेत्र प्रति सकारात्मक भन्दा बढी
नकारात्मक अथात् निराशाजनक धारणा बढ्दो छ । अधिकार मागेर हैन, खोसेर मात्रै पाइन्छ
भन्ने हाम्रो मानसपटलमा लादिएको छ । आखिर नागरिक के चाहन्छ त ? धेरै नेपाली जनतालाई
को सत्तामा पुग्छ ? को राष्ट्रपति हुन्छ ? को प्रधानमन्त्री हुन्छ ? भन्नेमा खास
मतलब छैन । जनतालाई सधै मतलब हुने भनेको आफ्नै दैनिक गुजारा र दैनिक जीवनयापन सहज र
सरल होस् भन्ने हो । वास्तवमा नागरिकहरुलाई आफ्नै गाउँठाउँमा नै आˆनो जेथ्थाले
भ्याएसम्मको खर्च गर्दा खाना पकाउन ग्याँस पाउनु पर्र्यो । नुनतेल र लुगाफाटा
किन्न पाउनु पर्र्यो । स्वतन्त्रपूर्वक हिड्डुल गर्न यातायातको साधनमा सवार गर्न
होस् वा आˆना साधनहरु चलाउन पाउनु पर्यो । सवारी साधनमा पैसा तिरेर इन्धन हाल्न
पाउनु पर्यो । बिजुली चौबीसै घण्टा हुनु पर्यो । सर्वसुलभ र शान्तिपूर्वक शिक्षा
लिन स्कुल, कलेजको सुविधा पाउनु पर्यो ।
सधै धारामा पानी आउनु पर्यो । इन्टरनेट,
सञ्चार, टेलिफोन मोबाइल सेवा सहज र सर्वसुलभ हुनु पर्यो । बाटोघाटो, पुल, सडक
लगायतको निर्माण भई सहज र सरल हुनु पर्यो । सरकारी कार्यालयमा आवश्यक कामले जाँदा
त्यहाँ हुने कामहरु सहज रुपमा हुनु पर्यो । बैंकहरुमा आफूले राखेको पैसा निकाल्न
जाँदा सहज तबरले लिन पाउनु पर्यो । सार्वजनिक निकायमा तिर्नु पर्ने राजश्व
बुझाउनलाई सहज सरल हुनु पर्यो । दैनिक उपभोग्य बस्तुहरु छिमेकी राष्ट्रमा पाउने
दाम र यहाँ पाउने दाम बराबर हुनु पर्यो । स्वास्थ्य संस्थाहरुबाट दिइने स्वास्थ्य
उपचार र स्वास्थ्य परामर्श सेला सहज र सरल हुनु पर्यो । प्रहरी प्रशासनबाट उपलाब्ध
सेवा छिटो, सहज, सरलरुपमा पाउने वातावरण हुनु पर्यो । न्यायीक निकायहरुको सेवा
छिटो छरितो पाउनु पर्यो । अति आवश्यक बस्तु तथा सेवाहरु सहज र सरल रुपमा पाए अनि
नागरिकहरुले स्वतन्त्रपूर्वक बाँच्न पाउने स्थिति भएमा नागरिकलाई कुन नेता के पदमा
जाने भन्नेमा खास मतलब हुँदैन थियो होला । यो र यस्तो परिस्थिति कुन व्यवस्थामा,
कुन प्रणालीमा र कुन वादमा आउला यसै भन्ने अवस्था छैन । त्यसैले मलाई लाग्छ, यस्तो
समयमा बोल्यो मुख लागे जस्तो र नबोल्यो चुप लागे जस्तो भएको अवस्थाको सिर्जना भएको
छ ।
राजु श्रेष्ठ
https://udghoshdaily.com/category/-15-22-27/news
१४ साउन २०८१,
सोमवार
Subscribe to:
Posts (Atom)
कमरेड बोपाटु, रुदानेको कन्तुर खोलेस् !
कमरेड बोपाटु, रुदानेको कन्तुर खोलेस् ! : अहिलेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारीतर्फ देखाएर दार्शनिक नेता तथा तत्कालीन राष्ट्रिय प
-
नेवार सभ्यता र विविधि थरहरु #काठमाडौं उपत्यका अर्थात #नेपालमण्डल भौगोलिक दृष्टिकोणले भूगोलको धेरै सानो भूभाग हो l यति सानो भुभागभित्र पनि...
-
१८ औं राष्ट्रिय सूचना दिवस नेपालमा सूचनाको हक सम्बन्धी ऐन, २०६४ जारी भएको भदौ ३ गतेलाई राष्ट्रिय सूचना दिवसका रुपमा मनाउने गरिएको छ । ...
-
उत्तरपुस्तिका हेर्ने विद्यार्थीसँग कानूनविपरीत शुल्क असुली त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले उत्तरपुस्तिका हेर्न...

.jpeg)
