सूचनाको हक (Soochanako Hak)
निस्पक्ष सक्रियताको अभ्यास
Sunday, December 8, 2024
कमरेड बोपाटु, रुदानेको कन्तुर खोलेस् !
Wednesday, September 4, 2024
वृद्धावस्थाको एक्लोपन र अन्तरपुस्ता एकता
वृद्धावस्थाको एक्लोपन र अन्तरपुस्ता एकता
अध्ययन र कामको सिलसिलामा लामो समय जन्मथलोदेखि टाढा रहनुपर्ने बाध्यता रह्यो । पारिवारिक भेटघाटका लागि दशैं नै कुर्नुपर्ने । यसै दौरानमा छोरो जन्मियो । उसको पालनपोषणका लागि केही समय त आमा हामीसँगै रहनुभयो । तर छोरो विद्यालय जान थालेपछि आमा गाउँ नै फर्किनुभयो । सायद आमाप्रति केही सामीप्यता रहेछ; कहिलेकाहींको भेटमा आमालाई ‘आमा’ नै भनी सम्बोधन गर्थ्यो। तर, बालाई ‘बाबाको बा’ भनेर सम्बोधन गर्थ्यो । सायद आमा जस्तै बासँग पनि सामीप्यता भएको भए, उसको बालमस्तिष्कमा प्रेमिल छाप परेको भए, बा पनि ‘बाबाको बा’ बन्नुहुने थिएन होला ! यो प्रतिनिधि उदाहरणले समाजमा पारिवारिक सम्बन्धहरू कमजोर बन्दै गएका र परिवारका सदस्यहरू टाढिने क्रम झन् घनीभूत हुँदै गइरहेको पुष्टि गर्छ ।
हालसालै जापानमा एक्लो अवस्थामा सन् २०२४ को आधासम्म करिब ४० हजार व्यक्तिको मृत्यु भएको खबर पढें । प्रत्येक १० मध्ये एक जनाको शव एक महिनापछि फेला पारिएको बताइएको छ । मृत्युपछि १०० जनाभन्दा बढीको अवस्था एक वर्षसम्म थाहा हुन नसकेको प्रहरीले सार्वजनिक गरेको छ । वृद्धवृद्धाहरूको संख्या बढिरहेको जापानमा मानिसहरूमा एक्लोपनको समस्या बढ्दै गएको तथ्यांकले देखाउँछ । यो समस्यासँग जुध्ने प्रयासस्वरूप २०२४ को अप्रिलमा जापान सरकारले एउटा विधेयक पनि ल्याएको थियो ।

नेपालको सन्दर्भमा परम्परागत रूपमा संयुक्त परिवार प्रणाली प्रभावकारी थियो, जहाँ विभिन्न पुस्ताका व्यक्तिहरू एउटै छानामुनि बस्ने गर्थे । यस्तो परिवार प्रणालीले विशेषगरी महिलाहरूलाई वृद्ध नागरिकहरूको हेरचाह र सहयोगको भूमिका दिन्थ्यो । यसले बालबालिकालाई आफ्ना हजुरबा–हजुरआमाबाट ज्ञान र अनुशासन सिक्न मद्दत गर्दथ्यो । तर, हालका दिनमा संयुक्त परिवार प्रणालीले सानो परिवारमा विभाजन भई, परिवारका सदस्यहरू राम्रो जागिर, शिक्षा र जीविकोपार्जनको खोजीमा विभिन्न ठाउँमा फैलिन थालेका छन् ।
महिलाहरूको भूमिकामा पनि परिवर्तन आएको छ, उनीहरू घरेलु कामबाट बाहिर निस्केर आम्दानीजन्य कार्यहरूमा लाग्न थालेका छन्, जसले वृद्ध नागरिकहरू एक्लै बस्न बाध्य भई एक्लोपनको शिकार भएका छन् । यसका साथै, बालबालिकाले आफ्ना हजुरबा–हजुरआमाबाट सिक्ने ज्ञान र अनुशासनको परम्परा पनि क्रमशः हराउँदै गएको छ ।
नेपालका अधिकांश वृद्ध नागरिकहरू ग्रामीण क्षेत्रमा बस्छन् । सांस्कृतिक र परम्परागत रूपमा, यी वृद्धहरूले नातिनातिनाको हेरचाह, गाईवस्तुको गोठालो र केही हस्तकलाका काम गर्छन् । कृषिमा परिवारलाई सहयोग गर्नु उनीहरूको मुख्य जीविकोपार्जनको माध्यम हो । जीवनभरि कृषिमा काम गरेर पनि, उनीहरू गरिबीमा बाँचिरहेका छन् किनकि कृषिमा आधारित जीवनले कुनै बचत वा भौतिक सम्पत्ति जुटाउन सम्भव हुँदैन । जे कमाउँछन्, त्यो उनीहरू आफ्ना बच्चाहरूको शिक्षा र स्वास्थ्य सेवामा खर्च गर्छन् । वृद्ध महिलाहरू, विशेषगरी विधवाहरू, अझ बढी कष्टमा छन् किनकि उनीहरू जीवनभरि आफ्ना श्रीमान्को भौतिक सहयोगमा निर्भर रहन्छन् ।
घरेलु कामलाई नगद वा पैसामा रूपान्तरण गर्न नसक्दा र सांस्कृतिक विभेदका कारण, वृद्ध विधवाहरूले सीमित स्रोतमा बाँच्नुपर्छ र कुनै सहयोगको अपेक्षामा प्रतीक्षा गर्नुपर्छ । यो अवस्था अझ विकराल बन्छ जब ती वृद्ध महिलाहरू विधवा हुन्छन् र उनका सन्तान हुँदैनन्, जसले गर्दा उनीहरूले खाना, कपडा र आश्रय जस्ता आधारभूत आवश्यकताहरूको कमी र मानसिक स्वास्थ्य समस्याहरू; जस्तै एक्लोपन र डिप्रेसनको सामना गर्नुपर्छ ।
संसारमा आर्थिक समृद्धि, प्राविधिक विकास र भौतिक प्रगतिका कारण खर्चयोग्य आम्दानीमा भएको वृद्धिसँगै मानवीय सम्बन्ध पनि नष्टीकरण हुँदै गएको छ । टाढिंदै गएका परिवारलाई जोड्ने उद्देश्यले मे १५ मा अन्तर्राष्ट्रिय परिवार दिवस हरेक वर्ष मनाइने गरिन्छ । तर एक दिवसीय प्रयास निष्प्रभावी देखिन्छ । वास्तवमा परिवार, समाजको प्रारम्भिक प्रारूप पनि हो । परिवारले एकअर्कालाई जोडेर राख्नुका साथै हरेक सदस्यका सुख-दुःखलाई महसुस गराउँछ । युवा पिंढीमा परिवारप्रतिको महत्वलाई बुझाउन र मजबुत सम्बन्ध स्थापित गर्न सदस्य बीचको भौतिक सामीप्यता अनिवार्य छ ।
समय बलवान् छ । आफ्नै गतिमा चलिरहन्छ । संसारको कुनै पनि शक्तिले यसलाई रोक्न सक्दैन । समय स्वयंकै आयु हुन्छ/हँुदैन, तर सत्य के हो भने समयसँगै मानिस वृद्ध हुन्छ । ऊ विस्तारै शारीरिक, मानसिक र मनोवैज्ञानिक रूपले कमजोर हुन्छ । समयको प्रवाहसँगै उमेर बढ्छ, जवानी चढ्छ, ढल्कन्छ, अनि मान्छे बुढो हुन्छ ।
मानव जीवनको उत्तरावस्था पनि हो, वृद्धावस्था । वृद्धावस्थामा कुनै पनि व्यक्तिको बानी व्यवहार, सोच, विचारमा परिवर्तन हुन्छ । शारीरिक र मानसिक रूपमा कमजोर बन्छ । दैनिक क्रियाकलापहरू गाह्रो हुन्छ, गर्न सक्दैन । तर, सहारा दिने युवाको स्वदेशमा जीविकोपार्जन नहुने स्थिति छ । जसले विदेशिने क्रम बढ्दो छ । ऊ, परिवार र देश छोडेर विदेशिन बाध्य छ ।
जोखिम नै मोलेर दैनिक आधारभूत आवश्यकता पूरा गर्न वैदेशिक रोजगारीमा विदेशिने ‘पुस फ्याक्टर’ जबर्जस्त मौलाएको छ । जसका कारण वृद्धावस्थाका अभिभावक विस्तारै एक्लो बन्दैछन्, बनिरहेछन् । एक्लोपन मानसिक रोगको लागि महत्वपूर्ण कारण हुन सक्छ । मानसिक समस्या जस्तोसुकै धर्म, लिंग, उमेर, जाति, पेशा, वर्ण तथा सामाजिक अवस्थाको मानिसहरूलाई हुन सक्छ । नेपालमा वृद्धावस्था सम्बन्धी समस्या भएका मानिसहरूलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेकोले मानसिक बिरामीहरूलाई उपचार गर्न थप चुनौती भएको देखिन्छ । एक्लोपनाको समयमै उपचार गरेमा यसका जटिलताको न्यूनीकरण गर्न सकिन्छ ।
परिवारबाट टाढिएका हामी एक्लोपनलाई कुनै समस्याको रूपमा बुझ्दैनौं । सिर्जित मानसिक तथा मनोवैज्ञानिक समस्याको रूपमा स्वीकार पनि गर्दैनौं । छिमेकीलाई चिन्दैनौं । उस्तै परे परिवारका सदस्यलाई पनि चिन्दैनौं । तालिकाबद्ध कार्य व्यस्तता हुने हामी बिदामा घरभित्रै बस्न रुचाउँदैनौं । जसले पत्तै नपाई एक्लो रहने रोग (लोन्ली इन ड्राउन सिन्ड्रोम) को शिकार हामी भइसकेका हुन्छौं । हाम्रा वृद्ध बा-आमालाई एक्लो बनाएका छौं । हामीलाई वृद्ध आमाबाबु र हुर्केका बच्चाहरूसँग कुराकानी गर्न समय छैन । जसले हाम्रा बच्चाको वृद्ध आमाबाबुप्रतिको प्रेम कमजोर हुँदै गइरहेको छ ।
श्रीमान् वैदेशिक रोजगारमा जान्छ, श्रीमती बच्चा पढाउने नाउँमा शहर पस्छिन् । अनि गाउँ युवाविहीन छ । त्यसैले कैयौं वृद्ध एक्लै बस्न बाध्य छन् । उनीहरूले साथी, छिमेकी वा परिवारको सदस्यसँग भौतिक सामीप्यता विनै समय बिताउन बाध्य छन् । जसले वृद्ध सामाजिक रूपमा अलग बन्दैछन् । कारण कमजोर हुनु, आफ्नो परिवारको केन्द्र नबन्नु, कार्यस्थल छोड्नु, पति/पत्नी र साथीहरूको मृत्यु वा बिरामी हुनु, जेसुकै भए पनि, एक्लो र कमजोर महसुस गर्नु शारीरिक स्वास्थ्य र सामाजिक कल्याणमा गम्भीर गिरावट आउनु हो । एक्लोपनमा नकारात्मकताले प्रश्रय पाउँछ, त्यसैले वृद्धका लागि मनोवैज्ञानिक परामर्श अनिवार्य छ ।
नेपालमा वृद्धावस्थाको एक्लोपना सम्बन्धी विषय एकदमै कम अध्ययन भएको तथा राज्यको लगानी नभएको विषय हो । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा २५ प्रतिशत मानिसलाई कुनै न कुनै प्रकारको मानसिक समस्या भएको तथ्य देखाएको छ । जसको महत्वपूर्ण हिस्सा वृद्धावस्थाको एक्लोपना सम्बन्धी समस्याले ओगट्ने गरेको छ ।
गरिबी, वंशाणुगत कारण, सामाजिक पर्यावरण, विकृतिहरू, तनावग्रस्त जीवनशैली, घाउ वा चोटपटक जस्ता कारणले वृद्धावस्थामा थप जटिलता निम्त्याउँछन् । जसले स्वास्थ्य समस्या र उच्च मृत्युको जोखिम बढाउँछ । त्यसैले यो संकटको घडी पनि हो । भावनात्मक र व्यावहारिक सहयोगले स्वास्थ्य चुनौतीको सामना गर्न र समस्याबाट पार पाउन सकिन्छ । वृद्धावस्थामा विभिन्न रोगले च्याप्छ । शारीरिक र मानसिक रूपमा कमजोर बन्छ । नियमित शारीरिक गतिविधिमा कमि हुन्छ । नियमित चिकित्सा हेरचाह आवश्यक हुन्छ, शारीरिक, मानसिक, आर्थिक, सहारा र सबैभन्दा बढी मनोवैज्ञानिक सहयोग चाहिन्छ ।
यस अवस्थामा आफ्ना सन्तानबाट धेरै आशा हुन्छ । परिवारको सहयोग, हेरचाह र प्रेमपूर्ण व्यवहार, समस्या र चुनौतीको सामना गर्ने बलिया आधार हुन् । बुढ्यौली अवस्थामा शारीरिक, मानसिक, आर्थिक सहारा र सहयोग चाहिन्छ । तर, पेशा–व्यवसायमा तल्लीन छोराछोरी नजिक हुँदैनन् ।
हाम्रो पूर्वीय संस्कारले वृद्धाश्रमलाई स्वीकारेको देखिंदैन । वृद्धाश्रमले कसैलाई खुसी पनि दिंदैन । तैपनि, वृद्धावस्था पुगेपछि मानिस वृद्धाश्रम जानुपर्ने बाध्यात्मक स्थिति समेत छ । रोजगारीको खोजीमा युवापुस्ता विदेशतिर पलायन हुने विद्यमान नेपाली समाजमा युवाहरू काम, दाम र मामको खोजीमा विदेश पलायन हुने र उचित रेखदेखको अभावमा कैयौं नेपाली घर अघोषित वृद्धाश्रम बनेका छन् ।
मादक पदार्थको सेवन, लागूऔषधको प्रयोग, राजनीतिक कारणले एक्लोपनले समस्यालाई थप मलजल गर्ने काम गरिरहेका हुन्छन् । उचित रेखदेख र स्याहारबाट वञ्चित हुँदा जीवन झन् कष्टकर हुन्छ । वृद्ध जीवन दयनीय अवस्था बन्छ । एक्लोपनमा गलत कुरामा सत्यता खोज्नु, द्विविधा हुनु वा झुक्किनु, धेरै रिसाउनु, दैनिक कार्यहरू पूरा गर्न नसक्नु, निद्रामा गडबडी हुनु जस्ता विषय सामान्य रूपमा देखिन्छन् ।
वृद्धावस्थाको एक्लोपन कुनै क्षेत्र र समुदायका मानिसमा मात्र सीमित छैन । शहरी भीडभाडमा झनै वृद्धको जीवन पिंजडाभित्रको निस्सासिए झैं लाग्छ । अत्यधिक सामाजिक सञ्जाल प्रयोग र कम मानव अन्तरक्रियाले सामाजिक विच्छेद निम्त्याउने तथा शारीरिक तथा मानसिक स्वास्थ्यमा प्रतिकूल स्वास्थ्य प्रभाव पारी डिप्रेसनले मृत्युदर बढाउने अवस्था छ । सम्पत्ति र तागत छउन्जेल सबैको साथ पाउने हिजोका युवा/आजका वृद्ध कमजोर वृद्धावस्थामा दयनीय कारुणिक जीवनयापनका लागि बाध्य छन् ।
स्वास्थ्यकर्मीसँगको परामर्श, सामुदायिक गतिविधिमा हुने उपस्थिति, साथी र परिवारसँगको सामीप्यता, क्लब वा सामाजिक समूहमा सामेल, नयाँ मानिससँगको भेट, सामाजिक सञ्जाल मार्फत हुने सञ्चार, स्व–सहायता र स्वयंसेवकीय व्यवहारले एकांकीपन न्यूनीकरणका लागि अल्पकालीन प्राविधिक र सामाजिक हस्तक्षेप गर्न सक्ने भए पनि दीर्घकालीन समाधानका लागि विद्यालय र विश्वविद्यालय पाठ्यक्रममा नै अभिभावकप्रतिको जिम्मेवारी तथा दायित्व र स्वयं वृद्धको पनि दैनिक जीवन व्यवस्थापन सम्बन्धी विषयहरू समावेश गरी वृद्धावस्था व्यवस्थापनको व्यावहारिक बोध गराउनुपर्ने देखिन्छ ।
निद्रा नलाग्नु, छटपटी हुनु, मर्ने सोच आउनु, मर्ने प्रयास गर्नु, चिट्चिट् पसिना आउनु, एकदमै डर लाग्नु, एक्लै हुन मन पराउनु, एकोहोरो हुनु, एकदमै गल्ती गरेको महसुस गर्नु, धेरै रिसाउनु, दैनिक कामहरू पूरा गर्न नसक्नु जस्ता समस्या र समाधानका लागि हरेक वृद्धले एक्लोपनको अवस्थाबाट बाहिर आउने प्रयास गर्नैपर्छ ।
मानवीय स्वभाव नै आफ्नो बारेमा अरूसँग खुलेर कुरा गर्ने, राम्रोसँग सुत्ने, स्वस्थ खानपिन, दैनिक शारीरिक कसरत गर्ने, काममा व्यस्त हुनु, अनावश्यक तनाव नलिने, राम्रो साथीहरूसँग मात्र संगत गर्ने हो । जसका लागि उपयुक्त वातावरण तयार गर्न सकिएमा एक्लोपनाका कारण मादक पदार्थ र लागूऔषधको सेवन, स्वास्थ्यप्रतिको बेपर्वाह, अन्य मानसिक समस्याको निराकरण गरी पुनस्र्थापना गर्न सकिन्छ । मतभेदका कारण परिवारका सदस्य कहिलेकाहीं टाढा हुन सक्छन् । तर जब समस्या आइलाग्छ सामूहिक समाधानको बाटो अवलम्बन गर्दा आपसी संवादले दिमाग शान्त हुन्छ । परिवारका सदस्य साथमा हुँदा सबैको आत्मविश्वास बढ्छ । आफूलाई सुरक्षित महसुस गर्छ र घरमा आफूभन्दा तनावरहित हुन्छ ।
वृद्धावस्थामा शान्ति, समुन्नति र आनन्दमय जीवन व्यतीत गर्न शारीरिक र मानसिक समस्याहरू आफू नजिक नआउन् भन्न खातिर सकारात्मक सोच राख्नुपर्छ । जीवनको पूर्वार्धमा सम्पन्न नभएका अधुरा कार्य, इच्छा र आकांक्षाहरू पूरा गर्ने अर्कै भूमिका र ढंगबाट समाज र देशको सेवा गर्ने अवसरको रूपमा यस अवधिलाई लिंदा राम्रो हुन्छ । मानसिक शान्तिको लागि अध्यात्मतिर लाग्नु पनि उपयुक्त नै हुन्छ ।
नोकरीको नियमित कामबाट बिदा भए पनि नयाँ भूमिकामा आफूलाई प्रस्तुत गरिहाल्नुपर्छ । सक्रिय जीवन बिताउनुपर्छ, राम्रोको संगत (सत्संग) गर्नुपर्छ । सम्भव भएसम्म परोपकार गर्ने । कसैको कुभलो नगर्ने । यो संसारमा तिम्रो के छ र ? तिमीले के लिएर आएका थियौ र के लिएर जान्छौ ? आज तिम्रो जे छ त्यो हिजो अरू कसैको थियो र भोलि अरू कसैको हुनेछ ।
केही अपवाद बाहेक, कुनै पनि वृद्धले निश्चित काम वा सेवाबाट अवकाश लिएको हुन्छ । उपार्जनीय क्षेत्रका आफ्नो ऊर्जा, ज्ञान, सीप, क्षमता र दक्षताको उपयोग गरेर राष्ट्रका लागि महत्वपूर्ण योगदान पुर्याएको हुन्छ । उमेर ढल्कँदै जाँदा स्वाभाविक रूपमा उसको शारीरिक र मानसिक क्षमतामा क्रमशः ह्रास भए पनि अनुभव र बौद्धिक ज्ञानले खारिएको हुन्छ ।
त्यसैले राज्यले विभिन्न क्षेत्रबाट खारिएका परिपक्व ब्रेनहरूलाई रणनीतिक व्यवस्थापन गरी राष्ट्र निर्माणमा उपयोग गर्नुपर्दछ । र व्यक्ति अवकाशपछिको जीवनलाई निरर्थक र बोझपूर्ण हुनबाट जोगाउन बेलैमा विचार पुर्याउनुपर्छ । हिजोको समय बितिसक्यो, भोलि कसैले देखेको छैन, त्यसैले आजको समय आनन्दका साथ जिउनुपर्छ ।
शक्ति र सामथ्र्य हुन्जेल पारिवारिक कल्याणका लागि सकारात्मक पहल गर्ने साझा संकल्प सबैमा हुन्छ । आयआर्जनमा आवद्ध भएका हुन्छन् । सबैको एउटै लक्ष्य पारिवारिक कल्याण हुन्छ र रहन्छ । त्यसैले आफ्नो ऊर्जाशील समयमा पारिवारिक साझा लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुने अग्रज लिडरहरूका सकारात्मक कार्य र मार्गदर्शनलाई पछ्याउँदै बाँकी जीवनमा शतप्रतिशत साथ, समर्थन र सहयोग गर्ने प्रतिबद्धता गरौं । वृद्धावस्था व्यक्ति मात्र नभई जैविक संस्था पनि हो । संस्था सफल, सबल र सुदृढ बनाउन निरन्तर लागिरहने प्रण गरौं ।
अन्त्यमा, नेपालमा विद्यमान पारिवारिक संरचना र अन्तरपुस्ता सम्बन्धको विश्लेषण गर्दा सकारात्मक दृष्टिकोण राख्न चुनौतीपूर्ण छ । गाँस बासको जोहोका लागि विदेशिनुपर्ने बाध्यता, स्रोतको कमी, राजनीतिक अस्थिरता र भौगोलिक बाधाहरूले परिवारको रणनीतिक व्यवस्थापन र आर्थिक उपार्जनलाई कठिन बनाएको छ । यी सबै समस्याहरूका बाबजुद, पारिवारिक जीवनशैली हाम्रो संस्कृतिको अभिन्न अंग हो, र यसलाई सुदृढ पार्न विशेष पहल आवश्यक छ ।
समाजमा वृद्ध नागरिकहरूको संख्या बढ्दै गर्दा अन्तरपुस्तीय एकता अझै महत्वपूर्ण बन्दै गएको छ । पारिवारिक जीवनशैलीमा विशेषगरी, अन्तरपुस्तीय सद्भावको महत्व पुनःस्थापित गर्न आवश्यक छ । यसका लागि, नीतिगत तहमा गम्भीर समीक्षा गरी न्यूनतम रोजगारीका अवसरहरू सिर्जना गर्न र अन्तरपुस्तीय एकता सुदृढ पार्न सक्षम नीतिहरू विकास गर्नुपर्ने देखिन्छ ।
अन्तरपुस्ता कार्यक्रमहरू, जसले वृद्ध र युवाहरूलाई साझा गतिविधि मार्फत जोड्छन्, पुस्ताहरूबीचको खाडललाई घटाउन र पारिवारिक एकता पुनःस्थापित गर्न महत्वपूर्ण हुन्छन् । यस्ता कार्यक्रमहरूले न केवल पुस्ताहरूबीचको सम्बन्ध सुधार्न मद्दत गर्दछ, तर वृद्ध नागरिकहरूलाई सम्मानजनक जीवन बिताउन र युवाहरूलाई परम्परा, मूल्य र अनुशासनमा आधारित शिक्षामा पुनः जोड्न पनि सहायक हुन्छ ।
नयाँ पुस्तालाई वृद्ध पुस्ताबाट सिक्ने, ज्ञान र अनुशासन प्राप्त गर्ने अवसर प्रदान गर्नुपर्ने आवश्यकता छ । यसले पारिवारिक सम्बन्धहरूलाई बलियो बनाउने मात्रै होइन, सामाजिक संरचनाको दीर्घकालीन सुदृढीकरणमा पनि टेवा पुर्याउँछ । समृद्ध र सन्तोषपूर्ण वृद्धावस्थाको सुनिश्चितता गर्न, पुस्ताबीचको सद्भावलाई बलियो बनाउन र अन्तरपुस्तीय एकताको महत्वलाई पुनःस्थापित गर्न प्रभावकारी नीति र कार्यक्रमहरूको विकास गर्न आवश्यक छ ।
(तिमिल्सिना गण्डकी विश्वविद्यालयका रजिस्ट्रार हुन् ।)
Copy : डा. कैलाश तिमिल्सिना
२०८१ भदौ २० गते ७:४०
https://www.onlinekhabar.com/2024/09/1534690
Wednesday, August 21, 2024
फेसबुकमा @highlight आतंक : अहँ, यस्तो लेख्दैमा आइडी ह्याक हुने/नहुने थाहा हुन्न
फेसबुक कमेन्टमा @highlight लेख्दा अक्षर नीलो भयो भने फेसबुक आइडी बलियो र कसैले ह्याक गर्न नसक्ने दावीसहितका पोस्टहरु भाइरल भएका छन्। धेरैले यस्ता पोस्ट गरेका छन् र त्यसमा सयौँ कमेन्टहरु देखिन्छन्।
तर हाम्रो तथ्य जाँचमा यो दावी मिथ्या भएको देखियो। फेसबुकमा कमेन्ट गर्दैमा ह्याक हुने/नहुने थाहा हुँदैन। फेसबुकको यो फिचरले कमेन्ट गर्ने केही साथीहरुलाई नोटिफिकेसनसम्म जान सक्ने अवस्था हुन्छ।
के छ दावी ?
भाइरल दावीमध्ये एकको स्क्रिनसट।
भाइरल भएका अधिकांश पोस्टहरुमा मार्क जुकरबर्गको फोटो र केही अक्षर राखिएको हुन्छ। त्यसमा फेसबुकको नयाँ आश्चर्य दावी गर्दै कमेन्टमा पहिले @ लेखेर highlight लेखी कमेन्ट गर्दा यदि हाइलाइट टेक्स्ट नीलो छ भने तपाईँको आईडी बलियो हुने र कसैले सजिलै ह्याक गर्न नसक्ने दावी गरिएको हुन्छ।
शनिबार राति हामीले खोजी हेर्दा यस्ता धेरै पोस्टहरु फेसबुकमा भेट्यौँ। हेर्नुस् स्क्रिनरेकर्ड।
के हो तथ्य ?
हामीले यो विषयमा तथ्य जाँचका लागि सुरुमा गुगलको फ्याक्ट चेक एक्सप्लोररमा गई @highlight कीवर्ड राखी यस विषयमा पहिले नै कसैले तथ्य जाँच गरिसकेको छ कि छैन खोज्यौँ।
भेरिफाइदिस डट कमले गएको डिसेम्बरमा यो विषयमा तथ्य जाँच गरेको रहेछ। तर त्यसमा कमेन्टमा @highlight लेख्दा तपाईँको प्रोफाइललाई जहिले पनि चेक गर्ने को रहेछ भन्ने देखाउँछ भन्ने दावी गरिएको रहेछ जुन कि गलत हो। हेर्नुस् भेरिफाइदिसको तथ्य जाँच।
त्यसैगरी स्नुप्स डट कमले पनि यो विषयमा तथ्य जाँच गरी यसलाई गलत बताएको छ। हेर्नुस् तथ्य जाँच।
नेपालमा भएको जस्तै भाइरल पोस्ट भने भारतमा पनि भएको रहेछ। भारतको तथ्य जाँच गर्ने वेबसाइट फ्याक्टलीले फेब्रुअरी २ मा यसबारे तथ्य जाँच गरेको छ।
त्यसमा राखिएको भाइरल पोस्टको स्क्रिनसटमा हिन्दी भाषामा उही विषय लेखिएको छ, जुन नेपालमा नेपाली भाषामा भएको छ। यहाँसम्म कि मार्क जुकरबर्गको फोटोसमेत उही छ। हेर्नुस् तथ्य जाँच।
डिस्ट्र्याक्टिफाइ डट कमले गएको अक्टोबरमा फेसबुकको @highlight फिचर बारे लेखेको छ। यसमा लेखिए अनुसार कमेन्टमा @highlight लेख्दा फेसबुक पोस्टको भिजिबिलिटी बढ्छ अर्थात् त्यो पोस्टलाई धेरैले देख्न सक्छन्।
हामीले कमेन्टमा @highlight लेख्दा के हुन्छ भनी नेपालफ्याक्टचेकको फेसबुक पेजमा कमेन्ट पनि लेखिहेर्यौँ। यसो गर्दा फेसबुकले ‘some friends might receive notification’ अर्थात् केही साथीहरुले नोटिफिकेसन पाउन सक्छन् लेखेको देखिन्छ। हेर्नुस् स्क्रिनरेकर्ड-
हामीले फेसबुकको आधिकारिक वेबसाइटमा पनि खोज्यौँ। त्यसमा पनि @highlight कमेन्टमा लेखेर ह्याक हुने/नहुने बारे थाहा पाउन सकिने लेखेको भेट्टाएनौँ। बरु आफ्नो खाता सुरक्षित राख्न फेसबुकले यस्तो उपाय सुझाएको छ–
- आफ्नो Facebook पासवर्ड अन्य कुनै ठाउँमा अनलाइन प्रयोग नगर्नुहोस् र कहिल्यै पनि अन्य मानिसहरूसँग साझा नगर्नुहोस्
- तपाईंको पासवर्ड अनुमान गर्नका लागि गाह्रो हुने भएकाले आफ्नो नाम वा सामान्य शब्दहरू प्रयोग नगर्नुहोस्।
- भरपर्दो पासवर्ड सिर्जना गर्ने तरिकाका बारेमा थप जान्नुहोस्।
कहिल्यै पनि आफ्नो लगइन जानकारी साझा नगर्नुहोस्
- स्क्यामरहरूले Facebook जस्तै देखिने झुटा वेबसाइटहरू सिर्जना गरेर तपाईंलाई आफ्नो इमेल र पासवर्ड प्रयोग गरी लगइन गर्न लगाउन सक्छन्।
- आफूले आफ्नो लगइन जानकारी प्रविष्ट गर्नुअघि सधैँ वेबसाइटको URL जाँच्नुहोस्। सन्देह भएका बेला Facebook मा जानका लागि आफ्नो ब्राउजरमा www.facebook.com टाइप गर्नुहोस्।
- Meta का इमेलहरूमा तपाईंको खाताका बारेमा संवेदनशील जानकारी हुन सक्ने भएकाले तिनलाई अन्य व्यक्तिहरूलाई फर्वाड नगर्नुहोस्।
- फिसिङबाट बच्ने तरिका का बारेमा थप जान्नुहोस्।
आफूले अन्य मानिसहरूसँग साझा गर्ने कम्प्युटर प्रयोग गर्दा Facebook बाट लग आउट गर्नुहोस्।
- तपाईंले पासवर्ड बिर्सनुभयो भने तपाईं रिमोट रूपमा लग आउट गर्न सक्नुहुन्छ।
तपाईंले नचिन्ने मानिसहरको साथी बनाउने अनुरोध स्वीकार नगर्नुहोस्।
- स्क्यामरहरूले मानिसहरूसँग साथी बनाउनका लागि नक्कली खाता सिर्जना गर्न सक्छन्।
- स्क्यामरहरूसँग साथी बन्नुले तिनलाई तपाईंको टाइमलाइनमा स्प्याम गर्न, तपाईंलाई पोस्टहरूमा ट्याग गर्न र तपाईंलाई मालिसियस सन्देशहरू पठाउन दिन्छ।
मालिसियस सफ्टवेयरबाट होसियार रहनुहोस्
- मालिसियस सफ्टवेयरले कम्प्युटर, सर्भर वा कम्प्युटर नेटवर्कमा क्षति पुर्याउन सक्छन्।
- भाइरसयुक्त कम्प्युटर वा यन्त्रका सङ्केत र मालिसियस सफ्टवेयर हटाउने तरिका जान्नुहोस्।
- आफ्नो वेब ब्राउजर अप टु डेट राख्नुहोस् र शंकास्पद एप्लिकेसनहरू हटाउनुहोस् वा ब्राउजरका एड-अनहरू हटाउनुहोस्।
- यसमा Facebook (उदाहरण: पोस्टहरूमा भएका) वा इमेलका लिङ्कहरू पर्छन्
- Meta ले तपाईंलाई कहिले पनि इमेलमा तपाईंको पासवर्ड सोध्नेछैन भन्ने कुरा ख्याल गर्नुहोस्।
- तपाईंले Facebook मा शंकास्पद लिङ्क देख्नुभयो भने त्यसबारे रिपोर्ट गर्नुहोस्।
- तपाईं पहिचान नगरिका लगइनहरूका बारेमा सतर्कताहरू प्राप्त गर्न र दुई-खण्डको प्रमाणीकरण सेट अप गर्न पनि सक्नुहुन्छ।
- तपाईं कुनै कम्प्युटरबाट Facebook मा लगइन हुनुहुन्छ भने तपाईं आफ्नो सुरक्षासम्बन्धी सेटिङहरूको समीक्षा गर्न सुरक्षा जाँच प्रयोग गर्न सक्नुहुन्छ।
अतः फेसबुकमा भाइरल भएको दावी मिथ्या ठहर्छ।
तथ्य जाँच
दावी : फेसबुक कमेन्टमा @highlight लेख्दा आइडी ह्याक हुने/नहुने थाहा हुन्छ।
दावीकर्ता : फेसबुक प्रयोगकर्ताहरु
तथ्य : मिथ्या सूचना। फेसबुक पोस्टको कमेन्टमा @highlight लेख्दा आइडी ह्याक हुने/नहुने थाहा हुँदैन।
यो लेख आदणिय गुरु उमेश श्रेष्ठ सरको बल्गबाट साभार
फेसबुकमा @highlight आतंक : अहँ, यस्तो लेख्दैमा आइडी ह्याक हुने/नहुने थाहा हुन्न – MySansar
लक्षितसम्म पुगेन सूचनाको हक
नेपालमा सूचनाको हक सम्बन्धी ऐन, २०६४ जारी भएको भदौ ३ गतेलाई राष्ट्रिय सूचना दिवसका रुपमा मनाउने गरिएको छ । नेपालमा यो ऐन जारी भएको १८ वर्षमा प्रवेश गरेको छ । लोकतन्त्रको संस्थागत विकास तथा सुशासनको प्रवद्र्धनका निम्ति राज्यको कामकारबाही र सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनु पर्दछ । सही सूचनाको प्रवाहद्धारा मात्र शासन व्यवस्थाप्रति नागरिक सहभागिता बढ्न गइ शासन व्यवस्थाले वैधता प्राप्त गर्दछ । लोकतान्त्रिक शासन पद्धतिमा सार्वजनिक निकायहरु नागरिकप्रति जवाफदेही, उत्तरदायी र पारदर्र्शी हुन आवश्यक छ । जवाफदेहिता, उत्तरदायी र पारदर्र्शी क्रियाकलापबाट मात्र देशमा सुशासन कायम गर्न सहयोग पुग्छ । यो सबै सूचनाको हकको प्रभावकारी कार्यान्वयनले मात्रै सम्भव हुन्छ । नेपालको संविधानले नेपाली नागरिकलाई प्रदान गरेको सार्वजनिक निकायमा रहेको आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक स्थापित गरेको छ । राज्यले हरेक नागरिकलाई लोकतन्त्रको पहरेदार बनाउन सूचनाको हकसम्बन्धी ऐन, २०६४ ल्याएको हो । तर, यो हक आएको १८ वर्षपछि पनि सूचनाको हक सर्वसाधारणसम्म पुग्न सकेको छैन । सूचनाको हक कागजी रुपमा १८ वर्ष पहिले नै प्राप्त भए पनि यस ऐनको व्यवहारिक प्रयोगमा ठूलो ‘ग्याप’ रहेको देखिन्छ । सूचनाको हकलाई व्यवहारिक प्रयोगमा सूचना दिने पक्ष र लिने पक्ष दुवै जानकार, जिम्मेवार र जवाफदेही भए मात्र यसको कार्यान्वयनमा सहजता आउने देखिन्छ । राजु श्रेष्ठ वास्तवमा भन्ने हो भने ऐनले सूचनाको हक सबै नेपाली नागरिकमा हुने भनिए पनि यस अधिकारको सबैले उपभोग गर्न सकेका छैनन् । यसको मूल कारण भनेको यस अधिकारको बारेमा जानकारी नै नहुनु हो । अझै पनि सूचनाको हक र ऐनका बारेमा सर्वसाधारण अनभिज्ञ हुनु विडम्बना नै हो ।
Monday, August 19, 2024
कोशी प्रदेशमा ‘गणेश काज’ को बिगबिगी : भ्रमण भत्तामा मनपरी
Wednesday, July 31, 2024
बोल्यो मुख लागे जस्तो, नबोल्यो चुप लागे जस्तो !
कमरेड बोपाटु, रुदानेको कन्तुर खोलेस् !
कमरेड बोपाटु, रुदानेको कन्तुर खोलेस् ! : अहिलेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारीतर्फ देखाएर दार्शनिक नेता तथा तत्कालीन राष्ट्रिय प
-
नेवार सभ्यता र विविधि थरहरु #काठमाडौं उपत्यका अर्थात #नेपालमण्डल भौगोलिक दृष्टिकोणले भूगोलको धेरै सानो भूभाग हो l यति सानो भुभागभित्र पनि...
-
१८ औं राष्ट्रिय सूचना दिवस नेपालमा सूचनाको हक सम्बन्धी ऐन, २०६४ जारी भएको भदौ ३ गतेलाई राष्ट्रिय सूचना दिवसका रुपमा मनाउने गरिएको छ । ...
-
उत्तरपुस्तिका हेर्ने विद्यार्थीसँग कानूनविपरीत शुल्क असुली त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले उत्तरपुस्तिका हेर्न...




.jpeg)
